काठमाडौँको तुलनामा जनकपुरधामका कलेजहरूको शुल्क निकै सस्तो ।
असार ३ गते, जनकपुरधाम। राजर्षि जनक क्याम्पस जनकपुरधामका सञ्चालक निरज झा (गुड्डु) ले काठमाडौँका अधिकांश कलेजको तुलनामा जनकपुरधामका कलेजहरूको शुल्क अत्यन्त न्यून रहेको बताएका छन्। उनका अनुसार काठमाडौँमा विद्यार्थीले तिर्नुपर्ने शुल्कको तुलनामा जनकपुरधामका धेरै कलेजको शुल्क “चार आना मात्र” जत्तिकै रहेको छ।

उनले शुल्कमा ठूलो अन्तर भए पनि अध्ययन–अध्यापनको गुणस्तर, शिक्षकको उपलब्धता, परीक्षा तयारी तथा शैक्षिक वातावरणको हिसाबले जनकपुरधामका कलेजहरू कुनै पनि हिसाबले कमजोर नरहेको दाबी गरे। उनका अनुसार कम खर्चमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने भएकाले प्लस टु अध्ययनका लागि जनकपुरधाम उपयुक्त गन्तव्य बन्न सक्ने अवस्था छ।
यद्यपि हरेक वर्षझैँ यस वर्ष पनि उल्लेख्य सङ्ख्यामा विद्यार्थीहरू प्लस टु अध्ययनका लागि काठमाडौँतर्फ गएका छन्। तर,विगतका वर्षहरुको तुलनामा यस वर्ष कम विद्यार्थी पलायन भएका छ्न ।
काठमाडौँमा अध्ययन गर्दा कलेज शुल्कसँगै बसोबास, खानपान, यातायात तथा अन्य दैनिक खर्चसमेत जोडिँदा अभिभावकमाथि थप आर्थिक भार पर्ने गरेको छ।
शिक्षा क्षेत्रका जानकारहरूका अनुसार विद्यार्थी पलायन केवल शैक्षिक गुणस्तरसँग मात्र सम्बन्धित विषय होइन। अभिभावक तथा विद्यार्थीहरूमा रहेको ‘काठमाडौँमा पढेपछि मात्र राम्रो भविष्य बन्छ’ भन्ने मनोविज्ञान, सामाजिक प्रतिष्ठाको चाहना तथा स्थानीय शैक्षिक संस्थाप्रतिको कमजोर विश्वास पनि यसको प्रमुख कारणमध्ये एक मानिन्छ।
स्थानीय कलेजहरूले पछिल्ला वर्षहरूमा शैक्षिक सुधार, दक्ष शिक्षक व्यवस्थापन, अतिरिक्त शैक्षिक क्रियाकलाप तथा नतिजामा सुधार ल्याउने प्रयास गरिरहेका भए पनि ती उपलब्धिहरू पर्याप्त रूपमा सार्वजनिक हुन नसकेको गुनासो समेत सुनिने गरेको छ। यसै कारण धेरै अभिभावक र विद्यार्थीले स्थानीय अवसरभन्दा बाहिरी आकर्षणलाई प्राथमिकता दिने गरेका छन्।

सञ्चालक झाका अनुसार जनकपुरधामका कलेजहरूको विषयमा अनावश्यक नकारात्मक प्रचार र बदनाम गर्ने प्रवृत्तिले समेत विद्यार्थी पलायनलाई बढावा दिएको छ। “यदि समान स्तरको शिक्षा आफ्नै शहरमा कम खर्चमा उपलब्ध छ भने केवल भ्रम, प्रचार वा प्रतिष्ठाका आधारमा बाहिर जानु आवश्यक छैन,” उनले भने।
शिक्षाविद्हरूले स्थानीय कलेजहरूले आफ्ना शैक्षिक उपलब्धि, उत्कृष्ट नतिजा, पूर्वविद्यार्थीहरूको सफलता र संस्थागत विशेषताबारे प्रभावकारी प्रचारप्रसार गर्नुपर्ने सुझाव दिएका छन्। साथै अभिभावकहरूले पनि भावनात्मक निर्णयभन्दा तथ्य, नतिजा, शैक्षिक वातावरण र आर्थिक पक्षको गहन मूल्याङ्कन गरेर मात्र आफ्ना सन्तानका लागि शैक्षिक संस्था छनोट गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
जनकपुरधाममा उपलब्ध शैक्षिक अवसरप्रति विश्वास बढाउन सकिएमा आगामी दिनमा विद्यार्थी पलायन न्यूनीकरण हुनुका साथै स्थानीय शैक्षिक संस्थाहरू थप सुदृढ बन्ने अपेक्षा गरिएको छ।







